चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु

चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु

५ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीनदिने तालिममा गाउँपालिकाका करिब २५ पत्रकारको सहभागिता छ ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाले स्थानीयस्तरमा उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताए । ‘उत्पादनको काम पालिकाका लागि दीर्घकालीन हुन्छ, त्यसमा पत्रकारिताले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘निश्चित मान्यता र इथिक्समा पत्रकारिता गर्न तालिमले सहयोग गर्छ ।’ उनले कुनैपनि तालिम तालिममा मात्र सीमित हुन नहुने पनि बताए । ‘म पालिकालाई केही फरक कामले चिनाउन चाहन्छु,’ उनले भने, ‘पत्रकारिताले पनि यसलाई सघाउँछ । जिम्मेवार र व्यावसायिक पत्रकारिता अहिलेको आवश्यकता हो ।’

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष दिलु लिम्बूले पत्रकारिताका आचारसंहिता, कानुनबारे नवप्रवेशी र कार्यरत पत्रकारका लागि क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताइन् । ‘पत्रकारिता निकै महत्वपूर्ण विधा हो,’ उनले भनिन्, ‘तर, पत्रकारले पालना गर्नपर्ने अनुशासन, व्यावसायिकतामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।’

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जुनसुकै पेसा–व्यवसायमा आधारभूत ज्ञान र सीप आवश्यक पर्ने बताए । ‘पत्रकारले पनि आधारभूत ज्ञान र सीप लिएर काम गर्दा व्यावसायिक बन्न सघाउ पुग्छ,’ उनले भने ।

पत्रकारिता गर्नु र यसैमा व्यावसायिक बन्नु फरक भएको भन्दै व्यावसायिकताका लागि ज्ञान र सीप आवश्यक रहेको उनको भनाइ छ ।

तालिममा पत्रकारिता, समाचार, पत्रकार आचारसंहिता, सूचनाको हकलगायतबारे छलफल भइरहेको छ । चुलाचुली गाउँपालिकाको सहयोगमा श्रीयम मिडिया प्रालिले तालिम आयोजना गरेको हो ।

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव तथा नागरिक दैनिकका संवाददाता भीम चापागाईं, राष्ट्रिय समाचार समितिका प्रतिनिधि मनोज अधिकारी, इलाम टाइम्सका देवेन्द्र पौडेल, चुलाचुली मिडियाका चेतन आङ्थुपो र सन्तोष गिरीले गरिरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर