२९ फागुन, झापा । अर्जुनधारा जेसीज र युथ अफ खुदुनावारीको संयुत्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिबिहीनहरुलाई सोमबार सेतो छडी (वाईट कने) वितरण गरिएको छ ।
सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा जेसीजले नगरभित्रका विभिन्न स्थानका २२ जना दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो ।
दृष्टिबिहीनहरुलाई अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ, ३ नम्बर वडा अध्यक्ष सिताराम भट्टराई, ६ नम्बर वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, ८ नम्बर वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, सहारा नेपाल साकोस सञ्चालक समितिका सदस्य भोला बराललगायतले सेतो छडी वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागि दृष्टिबिहीनहरुलाई अर्जुनधारा जेसीजले यातायात खर्च समेत उपलब्ध गराएको थियो ।
जेसीज अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख गोम्देन प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सहभागीहरुलाई कार्यक्रम संयोजक भवानी बरालले स्वागत गर्नुभएको थियो । युथ अफ खुदुनाबारीका अध्यक्ष तथा जेसीजका महासचिव मनोज सिटौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।