२६ फागुन, बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक झापा ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका चर्च ब्वाइजका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच भए । उनले रु एघार हजार प्राप्त गरे ।
अब उपाधीका लागि चर्च ब्वाइजले बिभागिय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । फाइनल खेल शोमबार हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको थियो । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।