२६ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका ११० बिरामी फेला परेका छन् ।
स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र ११० कुष्ठरोगका बिरामी फेला पारेका हुन् ।
महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिए ।
एनएलआरले हालसम्म कामपा–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आगामी दिनमा वडा नं ६, ७, ८, ९ र १७ वडामा उक्त कार्यक्रम सञ्चालन गरिने सिंहले बताए ।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापितले आव २०७९र८० मा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका जानकारी दिए । उनका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा ९४४ रहेका छन् ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य कुष्ठरोगको बारेमा जनचेतना जगाउने र समुदायमा रहेको भ्रम हटाइ सामाजिक लाञ्न्छनाको गलत धारणा परिवर्तन गर्नु रहेको मुख्य प्रशिक्षक गोपाहरि पोखरेलले बताए ।