१९ फागुन, झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् ।
घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासि प्रहार गरेको स्थानीयले आरोप लगाएका छन् । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।
विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ । दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ । भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आएपनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए ।