१७ फागुन, झापा । झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको छ ।
‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।
‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’ नगरपालिकाले नगरका ६ वटा वडामा विपन्न महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिरहेको छ ।
यसैबीच, फागुन १३ गतेदेखि १५ गतेसम्म सञ्चालित तीन दिने तालिम बुधवार भद्रपुर वडा नं ६ मा सम्पन्न भएको हो । तालिममा वडाध्यक्ष रतिया राजवंशी, सामाजिक शाखा प्रमुख जीवनकला राउत लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य सन्ध्याकुमारी डंगोल, रेखादेवी साफी लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कर्मचारी सञ्जु कोइरालाले गर्नुभएको थियो ।