१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।
हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् ।
प्रतिवेदनमा सन् २०२३ मा ताप्लेजुङमा आठ पुरुष, ३३ महिला र आठ बालिका गरी ४९ जनामाथि मानव अधिकार हननका घटना घटेको उल्लेख छ । कोशी प्रदेशको पहिचानको मुद्दा, त्यसबाट सृजित संघर्ष र अन्य मानव अधिकारविरोधी कार्यहरुका कारण मानव अधिकार हननक घटना बढेको प्रतिवेदनमा औल्याइएको छ ।
त्यस्तै, आठ वर्षीया बालिका बलात्कारको घटनालाई समेत प्रतिवेदनमा उठान गरिएको छ । कार्यक्रममा विद्युत उपभोगमा भेदभाव, निर्माण कार्य सम्पन्न नहुँदा आम सर्वसाधारणले पाएको सास्ती, प्राकृतिक प्रकोपका कारण घरबारविहिन भएकाहरुको समस्यालगायतका विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ताहरुले मानव अधिकारका घटनाहरु पारिवारिक र सामाजिक दबाबबाट लुकाइने गरिएकोले पीडितहरु अझैपनि बाहिर खुल्न नसकेको गुनासो राखेका थिए । मानव अधिकार हननका घटनाहरु लुकाइँदा पीडितहरु डिप्रेशनमा जाने र आत्महत्याको बाटो रोज्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, प्रहरी नायव उपरीक्षक डिएसपी राजन लिम्बु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्तालगायतको उपस्थिति थियो ।