३ पौष, माङसेबुङ (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्दा पनि बन्न सकेको छैन । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूणर्ता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति भएको छैन । दमकबाट घर्ती दोभानसम्म सोही खोलाको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ ।
दमक चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै काम नगर्ने ठेकेदार कम्पनी विरुद्व माङसेबुङ अध्यक्ष हेमन्त राई आक्रोसित बनेका छन् । उनले भने ‘सडक निर्माणमा अति ढिलासुस्ती भएको छ, के हामी जनप्रतिनिधी नै सडकमा आएर आन्दोलन गर्नुपर्ने हो ? ठेकेदार कम्पनीलाई चाँडो सडक निर्माणमा लाग्न आग्रह गर्दछु ।’