२४ कार्तिक, इलाम । इलामको सूर्याेदय नगरपालिकाले अन्तरवडा जोड्न निर्माण गरेको अलवेदर (बाह्रमासे) सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ ।
नगरपालिकाले २८ वर्षे नगर सडक गुरू योजना अन्तरगत एक वडा एक बाह्र महिने सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्दै लैजाने योजनासहित वडा नं. ९ मा कालोपत्रे सडकको उद्घाटन भएको छ ।
वडा नं. ९ को बरबोटे गैरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी नगरपालिकाले बिहीबार उद्घाटन् गर्दै टोलविकास संस्थालाई हस्तान्तरण गरेको छ ।
नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा अध्यक्ष देवेन्द्र शर्मासहित वडा सदस्य, प्राविधिक टोली र निर्माण व्यवसायीको उपस्थितिमा ९५ वर्षीय ज्येष्ठ नागरिक उत्तमराज शर्मा र नगरप्रमुख राईले रिवन काटेर सडकको उद्घाटन गरेका थिए ।
प्रथम चरणमा १ दशमलव ३६० किलोमिटर सडक कालोपत्रे गरी नगरपालिकाले उपभोक्ता समिति, आरिदाङ टोल विकास संस्था र सुन्दर गहिरी टोल विकास संस्थाले संरक्षण गर्ने गरी हस्तान्तरण गरेको हो ।
अरुणोदय मार्गको दोश्रो चरणको कार्य आगामी दिनमा चाँडै प्रारम्भ हुने र क्रमागत योजनामा उक्त मार्गको बाँकी काम गरिने नगरप्रमुख राईले बताए ।
बाह्रमासे सडक कालोपत्रेमा रुपान्तरण भएसँगै स्थानीय टोलबासी उपभोक्तालाई आवातजावात र ढुवानीमा सहज भएको वडाध्यक्ष देवेन्द्र शर्माले बताए । नगरपालिकाले नगरका सबै १४ वटै वडामा एकएक वटा बाह्रमासे सडक निर्माण गरिरहेको छ ।