ललिता निवास प्रकरणको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठे

ललिता निवास प्रकरणको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठे


२९ साउन, काठमाण्डौँ । सत्तागठबन्धनको बैठक आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागे । छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्ने भन्दै नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनको सहयोग उनले मागेका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको विषयमा पनि छलफल भएको थियो । गठबन्धनका नेताहरुले जिज्ञासा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको र निष्कर्षमा नपुगेको बताएका थिए ।

‘गृहमन्त्रीले छानबिनको प्रक्रिया अगाडि बढिरहेको छ, टुंगिएको छैन । एक हदसम्म अनुसन्धान भएपछि बाहिर आउँछ भन्नुभयो’ पाण्डेले भने । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन कुराकानी भएको देखिएको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू जोकसैलाई नछाड्ने, तर प्रमाणले पुष्टि नहुने कुरामा हात हालेर ‘ब्याकफायर’ हुन नचाहेको कुरा बैठकमा राखेका एक सहभागीले बताए ।

बैठकमा गौर हत्याकाण्डको विषयमा पनि छलफल भएको थियो । सरकारले हालै गौर हत्याकाण्डका पीडित संघर्ष समितिसँग गरेको सम्झौताप्रति जनता समाजवादी पार्टीका नेताहरुले आपत्ति जनाएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपा नेता राजेन्द्र श्रेष्ठले गौरकाण्ड भनेर विनाप्रसंग नेताहरुको नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । उनले त्यस घटनामा माओवादीतर्फको नेतृत्व स्वयं प्रभु साहले गरेको भन्दै अहिले सान्दर्भिकता नै नभएको विषयमा सरकारले हात हाल्नु उचित नहुने तर्क गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा रहेका कारण अनुपस्थित थिए ।

सत्ता गठबन्धनको बैठकमा ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेशको विषयमा पनि छलफल भएको थियो । हालै सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदको निर्णय र त्यसमा संलग्न पिरामिडको माथिल्लो तहसम्म अनुसन्धान गर्न आदेश दिएको छ । बैठकमा मन्त्रिपरिषदको निर्णयका विषयमा सर्वाेच्च अदालतले आदेश गर्नु उचित हो कि होइन भन्ने विषयमा छलफल भएको पाण्डेले बताए ।

‘नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन भन्ने विषयमा व्यापक छलफल भयो, यसले अझै छलफलको माग गर्छ’ उनले भने ।
यो विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठेका थिए ।

बैठकमा नेता माधवकुमार नेपालले आफू युरोप गएका बेला अनर्गल प्रचारहरु गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । सरकारले यस्तो विषयमा समयमै प्रष्ट पार्न नसक्दा समस्या भएको उनको तर्क थियो ।

‘मैले आखिरमा गरेको के हो र ? प्रचण्डजी प्रधानमन्त्री भएका बेला गुरुयोजनामा परेको कुरालाई लागु गर्न खोजेको मात्रै त हो’ बैठकमा नेता नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मैले बिराएको छैन, कानुनको शासनको खिलाफमा जाने कुरा हुँदैन । तर यसका पछाडि कुनै कुरा छ कि भनेर हेर्नुपर्ने भएको छ ।’

तर सोमबार छलफल गरेको कुनै पनि विषयमा टुंगोमा नपुगेको बताएको छ । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै माधव नेपालले भने, ‘ललिता निवासको इस्यु, गौरकाण्ड, सुनकाण्ड, संसदको अवरोध सबै विषयमा कुरा निस्कियो । भिन्न भिन्न विचारहरु आए । कुनै निष्कर्षमा पुगेनौं ।’

प्रधानमनत्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि समसामियक राजनीतिका सबै विषयमा छलफल सुरु भएको तर निष्कर्षमा नपुगेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर