२० माघ, विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा अनेरास्ववियुले मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् ।
दलीय भागबण्डा मिलाउनका निम्त्ति प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा आज बिहीबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मुख्यमन्त्री राईलाई कालो झण्डा देखाएका हुन् । विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झण्डा देखाईएको हो । अनेरास्ववियु केन्द्रिय कमिटीका उप–महासचिव भाष्कर खनालको नेतृत्वमा आएका करिब २५ जना विद्यार्थीहरूको समुहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।
घटनास्थलमा बाक्लो गरी परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विद्यार्थीहरुलाई रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो । संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धनको सरकारले ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेकाले आन्दोलनको आवश्यकता परेको अनेरास्ववियु उप–महासचिव भाष्कर खनालले बताउनुभयो । उहाँले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याईएसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।
प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश नं. १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।