३० जेष्ठ, झापा । झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र संञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ । विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिनुभयो ।
महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ ।