१३ चैत्र, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ ।
सर्वाेच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ । ओली समूहमा लागेकी प्रदेशसभा सदस्य उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
यस अघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहनुभएका राम राना मन्त्रीमा बढुवा हुनुभएको छ । मुख्यमन्त्रीका निकट सहयोगी अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा हुनुभएको छ ।
गुट परिवर्तन गरेकी उदयपुरकी सांसद कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
जिम्मेवारी पाएका मन्त्री र राज्यमन्त्रीको नाम सपथग्रहणपछि मात्रै सार्वजनिक गरिनेछ । नयाँ मन्त्री र राज्यमन्त्रीको सपथग्रहण आज दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।-file photo.