२६ फाल्गुन, झापा । होटल व्यवसायी महासंघ प्रदेश–१ को अध्यक्षमा दमकका युवा व्यवसायी राजेन्द्र दंगाल मनोनित हुनुभएको छ । विर्तामोडमा सम्पन्न महासंघको प्रथम महाधिवेशनले .दङगालको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङगाना, तीन उपाध्यक्षमा गोविन्द थापा, देवीप्रसाद पौडेल र जेपी राई, महासचिवमा बासुदेव बराल, सचिवमा शिवकुमार अधिकारी, सहसचिव दिलकुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा प्रेम सापकोटा, लालबहादुर श्रेष्ठ, मोक्षरत्न पोख्रेल, पुनम थापामगर,पदमलाल लम्साल र विमल भण्डारी, दिनेश खवास रहेका छन् । समिति २१ सदस्यको हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको बताइएको छ ।
महाधिवेशनमा बोल्दै होटल ब्यवसायीहरुले आफूहरुको ब्यवसाय पर्यटनसंग जोडिएको र पर्यटन प्रर्वद्धनसगै होटलहरुको ब्यवसायीकरणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेश–१ मा १५ हजार होटल ब्यवसायी रहेका छन् । साना, मझौला र ठूला गरी होटल तीन समूहमा विभाजन गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अथिती बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले होटल ब्यवसायको सिप विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटकलाई आकर्षण गर्ने विषयमा ध्यान दिन आग्रह गर्दै होटलमा हुने विकृति विरुद्ध ब्यवसायी आफैं सचेत बन्नु पर्ने बताउनुभयो ।