सभामुखले बैठक नबोलाएको भन्दै प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

सभामुखले बैठक नबोलाएको भन्दै प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ ।

हिजो साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले आज दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाउनुभएको थियो ।

तर बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो । ‘दलहरुबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक अनिश्चित कालका लागि स्थगित गर्नुभयो । यसमा हाम्रो आपत्ति छ’, प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भन्नुभयो ।

संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको भन्दै प्रचण्ड–माधव समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ ।

तत्काल बैठक बोलाउनुपर्ने र केन्द्रको आदेशमा नभएर परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लगातार बैठक छल्ने प्रयास भएको भन्दै यो समूहले आपत्ति जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर