मुलुककै सबैभन्दा ठुलो र अत्याधुनिक विद्युत प्रसारण लाइनको प्रधानमन्त्रीद्धारा उद्घाटन

मुलुककै सबैभन्दा ठुलो र अत्याधुनिक विद्युत प्रसारण लाइनको प्रधानमन्त्रीद्धारा उद्घाटन


१८ माघ, धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा ऊर्जा क्षेत्रको विकास महत्त्वपूर्ण भएको बताउनुभएको छ । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो अत्याधुनिक विद्युत प्रसारण लाइनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि काम गरेका कारणले नै मुलुक लोडसेडिङमुक्त भएको बताउनुभएकाो हो ।

उहाँले प्राविधिक समस्याका कारण कहिलेकाहीँ बत्ती जाने समस्या हुने गरेको र त्यसको दीर्घकालीन समाधानका लागि यस्ता प्रकारको प्रसारण लाइनको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले सजिलैसँग विद्युत बिक्री वितरण गर्न सक्ने समेत बताउनुभयो ।

विक्रम सम्बत २०७९/२०८० देखि नेपाल विद्युत्मा सबै मौसममा पनि पूर्णरुपमा आत्मनिर्भर भएर भारतमा विक्री गर्ने अवस्थामा पुग्ने गरी ठुला–ठुला विद्युत आयोजनाको निर्माण गर्ने काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विद्युत्को विकासमा जुन गतिले काम भइरहेको छ, त्यसले अबको केही वर्षमा भारत तथा बङ्गलादेशमा नेपालको विद्युत निर्यात गरेर देशलाई मनग्य आर्थिक लाभ हुने विश्वास दिलाउनुभयो ।

मुलुक समृद्धि र विकासका यात्रामा तीव्र गतिका साथ अगाडी बढेको बताउनुहुँदै सडक, ढल, व्यवस्थित सहरीकरणको कामले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

कृषि क्षेत्रको विकासका लागि सुनकोसी मरिन डाईभर्सनको निर्माण गरेर तराईलाई समृद्ध बनाउने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले विगतमा आफूलाई सरकार तथा पार्टीमा राम्रो काम गर्न नदिनेहरू अहिले चोइटिएर गएको र यसले पार्टीमा कुनै असर नपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०७८ वैशाख १७ गते प्रदेश नंं २ मा पहिलो चरणमा नै निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा लाग्न र सच्चा राष्ट्रभक्तलाई जिताउनका सबैलाई आग्रह समेत गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोप बहादुर रायमाझीले उज्यालो नेपाल अभियान पुरा गर्नका विद्युत प्रसारण महत्त्वपूर्ण भएको बताउनुहुँदै नेपालमा बढी विद्युत उत्पादन भएको खण्डमा भारत तथा बङ्गलादेशमा पनि यसैमार्फत बिद्युत विक्री वितरण गर्न सकिने बताउनुभयो ।

उहाँले मुलुकमा एक सेकेन्ड पनि विद्युत नजाने गरी ऊर्जा क्षेत्रको विकासमा आधुनिक प्रविधिको प्रयोग गर्ने काम भइरहेको बताउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइनको विकास तथा विस्तार आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर