६ मंसिर, स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुँने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताउँनुभएको छ ।
आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने बताउनुभयो । “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।” उहाँले भन्नुभयो ।
हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार दु्रतगतिमा अगाडि बढिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । यसको प्रतिफलमा स्वरुप जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उहाँले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा रहेको भन्दै स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेको बताउँनुभयो ।