४ कार्तिक, भौरवहवा । नेपालको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनी करिव ८ महिनापछि खुलेको छ । सरकारले अघिल्लो हप्ता पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुल्ला गरिएको हो ।
पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउँनेछन् ।
लुम्बिनी खुला गरिएसँगै आज साँझ लुम्बिनी होटल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गर्ने जनाएको छ ।
मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो ।