२४ कार्तिक, सुनसरी । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज विराटनगरमा भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको हो ।
प्रदेश सरकारले चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई सात करोड देखि ३५ करोडसम्म बजेट उपलब्ध गराएको मन्त्री घिमिरेले बताउनुभयो । पछिल्लो अढाई बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवस्यक रहेको मन्त्री घिमिरेको भनाई थियो ।
स्वास्थ्य बीमालाई समेत प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई घर घरमा गएर बीमा गर्न मन्त्री घिमिरेले आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको पाँच सय बेड विस्तारको तयारी गरिरहेको समेत बताउनुभयो ।
साथै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौति नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभयो ।