१९ कार्तिक, नयाँदिल्ली । भारतका विवादित पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका उनलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै बुधबार पक्राउ गरिएको हो ।
रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ ।
गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।
रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको भदै त्यसको खण्डन गरेको छ ।
टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी गराएको छैन । साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।
गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा खुबै भाइरल भएको थियो । गोस्वामीको अस्वाभाविक प्रस्तुतीको विरोध गर्दै र नक्सा प्रकरणमा सरकारको समर्थन गर्दै रिजालले कडा शव्दमा जवाफ फर्काएका थिए ।
भारतीय पत्रकार गोस्वामी विवादित प्राय विवादमा आई रहने पत्रकार हुन् ।