१८ कार्तिक, काठमाण्डौँ । अमेरिकामा नयाँ राष्ट्रपति छान्नका लागि आज मतदान हुँदैछ । अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था छ ।
यसपालि रिपब्लिकन पार्टीबाट राष्ट्रपति डोनाल्ड ट्रम्प नै पुनः अर्काे कार्यकालका लागि चुनिने दौडमा छन् । उता डेमोक्र्याटिक पार्टीबाट पूर्व–उपराष्ट्रपति जो बाइडेन मैदानमा उत्रेका छन् ।
विभिन्न सर्वेक्षणहरूले राष्ट्रपतिमा बाइडेन चुनिने आकलन व्यक्त गरेका छन् । यसअघि सन् २०१६ मा पनि लगभग सबै सर्वेक्षणहरूले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने देखाएका थिए । तर उनले ट्रम्पले भन्दा झन्डै ३० लाख बढी मत पाए पनि चुनाव हारेकी थिइन् ।
यसैबीच अमेरिकामा सोमबारसम्म ९ करोड ५० लाख बढी मानिसहरूले मतदान गरिसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
अमेरिकामा मतदानको दिनभन्दा पहिला नै भोट हाल्न पाउने ‘अर्ली भोटिङ’को व्यवस्था छ । यसपालि कोरोनाभाइरसको महामारीका कारण अर्ली भोटिङ गर्नेहरूको संख्या ह्वात्तै बढेको छ ।