७ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको सातौँ दिन, दशैँघर वा पूजा कोठामा नौँ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको पहिलो दिन कार्तिक १ गते आज दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।
त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।
चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।