६ कार्तिक, काठमाण्डौँ । नवरात्रको छैटौँ दिन आज । दशैँघर वा पूजा कोठामा नाँै दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको पहिलो दिन कार्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । आज छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नाँै दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।