२० असोज, दार्चुला । दार्चुला ब्यास नगरपालिका–१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न बाटो निर्माण गरिएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो ।
उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । सदरमुकामदेखि घाँटीबगडहुँदै छाङरु जाने बाटो तीन वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो ।
उक्त बाध्यता अन्त्य गर्न गत जेष्ठ २६ गते बाटो निर्माण सुरु गरेको सेनाले चार महिना पछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।
प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक खटिएका थिए ।
-रासस