२० असोज, विराटनगर । कोरोना भाइरसको महामारीकाबीच प्रदेश–५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश–१ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश–१ सरकारले राजधानीको विषय गत २३ वैशाख २०७६ मा टुंगो नै लगाएको छ । नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।
नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश–७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश–५ ले लुम्बिनी प्रस्ताव गरेको छ ।
प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेपनि प्रदेश–१ मा भने पहिचान पक्षधरको मत बलियो रहेकाले प्रदेशको नाम किरात रहने सम्भावना बलियो छ । प्रदेशको नाम किरात मात्रै नरहे पनि कोशी किरात वा सगरमाथा किरातमध्ये एक हुने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत किरात, कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा किरात र कोशी किरात नाम चर्चामा छ ।
तर बाहिरी चर्चामा आएको विषय प्रदेशसभामा औपचारीक रुपमा प्रस्ताव भने नभएको मुख्यमन्त्री शेरधन बताउनुहुन्छ । किरात, सगरमाथा, कोशी हिजो छलफलमा आएको नाम हो तर कतैबाट प्रस्ताव भने नआएको र छलफल पनि अहिले नभएको उहाँले बताउनुभयो । उहाँले किरात, सगरमाथा र कोशी विगतमा पनि चर्चामा आएका नाम भएकाले छलफलको विषय बनाउन सकिने बताउनुभयो ।