१३ भाद्र, इलाम । कोरोनाको संक्रमणका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश एकमा रहेका सानारठूला गरी नौँ सय उद्योग प्रभावित भएका छन् । प्रदेश–१ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो ।
नेपालको छुर्पी ‘डग च्यू’को रुपमा ती मुलुकहरुमा निकासी हुँदै आएको थियो । तर, अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नु बाध्यता छ ।
तयारी अवस्थामा रहेको छुर्पीसमेत नेपालबाट निकासी हुन सकेको छैन । प्रदेश–१ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी इलाममा मात्र पाँच सय ९० छुर्पी उद्योग छन् ।
फिक्कल डेरी उद्योगका संचालक दिनेश महतले गत वर्ष २६ सय किलो छुर्पी राजधानीको मनराम हिमालय हेण्डीक्राफ्टमार्फत अमेरिका, जापान र कोरिया पठाउनुभएको थियो । त्यबाट उहाँले दुई करोड ३४ लाखको आम्दानी गर्नुभयो ।
तर यो वर्ष कोरोना संक्रमणका कारण छुर्पीको अर्डर नआएको उहाँ बताउनुहुन्छ । उद्योगमा उत्पादित छुर्पी नै थन्किएको उहाँले सुनाउनुभयो ।
उता इलामको पूर्वी सन्दकपुर गाउँपालिकाका दूध किसान खेम भट्टराईले गत वर्ष नौ सय रुपैयाँ किलोका दरले २४ सय किलो छुर्पी अमेरिका लगायतका मुलुक पठाएर दुई करोड १६ लाख आम्दानी गर्नुभएको थियो । तर, यो वर्ष छुर्पी पठाउने सिजनमा कोरोनाका कारण व्यापार चौपट भएको उहाँले बताउनुभयो ।
इलामकै सेतो पहाड डेरी उद्योगले गत वर्ष ६० हजार किलो छुर्पी युरोप लगायतका मुलुकमा पठाएको थियो । डेरी संचालक मिलन खत्रीले पाँच करोड ४० लाख बराबरको छुर्पी उत्पादन गरी विदेशी बजारमा पठाएको बताउनुभयो । तर, यो वर्ष लकडाउनका कारण पूर्ण क्षमताभन्दा ५० प्रतिशत घटाएर छुर्पी उत्पादन गरिरहेको उहाँ बताउनुहुन्छ ।