
७ भाद्र, जनकपुरधाम । प्रदेश–२ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश–२ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश–२ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो ।
योसँगै प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको संसदीय दल गठन हुनेछ । यो सँगै प्रदेश–२ मा अब मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि शुरु भएको छ ।
प्रदेश–२ मा हाल समाजवादी पार्टी र राजपा नेपालको अलग अलग संसदीय दल छन् । दुवै दल एक भएपछि संसदीय दलमा जसपा नेपाल अस्तित्वमा आउने छ । जसपा नेपालका संसदीय दलका नेता हुने व्यक्ति नै अब प्रदेश–२ को मुख्यमन्त्री हुनेछ । त्यसैले संसदीय दलको नेता बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ ।
प्रदेशसभाका सभामुख सरोज यादवले जसपा नेपालले दल एकीकरण भएको जानकारी पत्र पठाएको र त्यो प्राप्त भएको जानकारी दिनुभयो । प्रदेशसभा सञ्चालन हुने बित्तिकै एकीकरणको प्रकृया शुरु गर्ने उहाँले बताउनुभयो । जनकपुरको निषेधाज्ञा हट्ने बित्तिकै बैठक बसेर दुवै पार्टीको संसदीय दलको एकीकरण प्रकृया शुरु हुने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेशसभाको बैठक बोलाएर एकीकरण प्रकृया टुङ्गो लगाउन भनेको सभामुख यादवले जानकारी दिनुभयो । निषेधज्ञाको अवधि भाद्र १४ सम्म जारी रहेछ । आज सकिन लागेको निषेधाज्ञा पुनः थपेर १४ गतेसम्म कायम गरिएको हो ।
निषेधाज्ञा रहेसम्म प्रदेशसभाको बैठक बस्ने छैन । संसदीय दल एकीकरण नभएसम्म त्यहाँको सरकारमा पनि हेरफेर हुने छैन । मुख्यमन्त्री, मन्त्रीहरुले सकभर यो सरकारलाई नै निरन्तरता दिन चाहेका छन् । स्रोतका अनुसार उनीहरुले आआफ्नो तर्फबाट केन्द्रमा त्यसकै लागि पहल पनि गरिरहेका छन् ।
प्रदेश–२ सरकारको अवधि लगभग दुई वर्षमात्र बाँकी छ । यसैलाई निरन्तरता दिनका लागि मुख्यमन्त्री राउतले केन्द्रमा लबिङ गरीरहनुभएको छ । उहाँ काठमाडौंमा भएको बेला जसपाका शीर्ष नेताहरुलाई भेटेर वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जनाएको छ । त्यसका लागि आफूलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउन उहाँले नेताहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले तत्कालीन राजपा नेपालका तर्फबाट लालबाबुर राउत संसदीय दलका नेता हुनुहुन्छ भने राजपा नेपालका तर्फबाट जितेन्द्र सोनल संसदीय दलका नेता हुनुहुन्छ ।
मुख्यमन्त्री राउतले वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरिरहेको बेला जसपा नेपालका प्रदेश सांसदहरुले सरकार परिवर्तनका लागि आग्रह गरेका थिए । जसपा नेपालका १५ जना प्रदेश सांसदले शीर्ष नेताहरुलाई भेटेर मुख्यमन्त्री राउत नेतृत्वको सरकार असफल भइसकेको र यसलाई परिवर्तन गरि अर्काे सरकार बनाउन आग्रह गरेका थिए ।
वर्तमान सरकारका अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको, जनतासँग गरेको प्रतिवद्धताअनुसार काम नगरेको कारण प्रदेश मन्त्रिपरिषद् पुरै परिवर्तन गरि नयाँ बनाउन उनीहरुले आग्रह गरेका थिए ।
प्रदेश–२ संसदीय दलमा एकीकरण भएपछि नयाँ संसदीय दलका नेता चयन हुनेछ । बहुमत प्राप्त दलको संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान रहे अनुसार संसदीय दलको नेता बन्नका लागि दौडधुप बाक्लिएको जसपा नेपालका नेताहरु बताउँछन् ।
संसदीय दलका आकांक्षीमा हालका मुख्यमन्त्री राउतसहित जितेन्द्र सोनल, मनिष सुमन, योगेन्द्र राय यादव, विजय यादवलगायत हुनुहुन्छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७