८ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिकामा तीन जना बालकको डुबेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षिय छोरा अङ्कुश तामाङ, साबिक गरामनि गा.वि.स. हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुधवार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तीनै जना बालक पौडी खेल्नुसँगै माछा मार्न गएका थिए । घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेर सम्म घर नफर्किएपछि उनीहरूको आफन्तजनले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधवार साँझ ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका विपतका प्रहरी टोलीले आज बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिनुभयो ।
यता तीन बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन तथा स्थानीयले निर्माण कम्पनीको लापरबाहीले गर्दा जमेको पानीमा वालहरुको डुबेर मृत्यु भएको भन्दै आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।