३ श्रावण, झापा । झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार २ सय ५२ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकललाई कारवाही गर्दा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड १४ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको संख्या समेत मोटरसाइकलकै धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी निरीक्षक जवेगूका अनुसार ५४ हजार ८ सय ५० सवारीले ट्राफिक नियम उल्लङ्घन गर्दा चार करोड पाँच लाख ५४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो ।
गत वर्ष यो अवधिमा ट्राफिक प्रहरी कार्यालय झापाले चार करोड तीन लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न गरिएको बन्दाबन्दीको समयमा समेत ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउनेहरु कारवाही परेका हुन् ।