भारी बर्षसंगै मधेशमा बाढी र डुबान–पहाडमा पहिरो, पूर्वतयारीमा सरकार चुक्दै

भारी बर्षसंगै मधेशमा बाढी र डुबान–पहाडमा पहिरो, पूर्वतयारीमा सरकार चुक्दै


३० असार, काठमाण्डौँ । वर्षायाम शुरु हुने बित्तिकै तराई–मधेशमा डुबान र बाढीको त्रास बढ्न थाल्छ । बर्सेनि तराई–मधेशमा बाढी र डुबानले सताउने गर्दछ । पहाडमा पहिरो र तराई–मधेशमा बाढी बर्सेनि नेपालले झेल्दै आएको प्राकृतिक प्रकोप हो ।

पहिरोको कुनै निश्चित क्षेत्र नभए पनि बाढी तथा डुबानको समस्या बर्सेनि खास क्षेत्रमा हुने गर्दछ । तर पनि विपद् पूर्वतयारीमा सरकार बर्षेनी चुक्दै आएको छ ।

बाढीको जोखिम क्षेत्र पहिचान गर्ने सन्दर्भमा पनि सरकार अन्योलमा हुन्छ । समयमै त्यसलाई नियन्त्रण र रोकथाम गर्न प्रभावकारी योजना समयमै ल्याउन नसक्दा जनधनको क्षति व्यहोर्न बाध्य हुनुपरेको अवस्था छ ।

घटना घटी सकेपछि राहतको नाममा केही सामाग्री लिएर नेता तथा जनप्रतिनिधीहरु केवल फोटो खिचाउँन मात्र गएजस्तो देखीन्छ ।

यस बर्ष पनि मनसुन भित्रिसकेको छ, देशका विभिन्न जिल्ला बाढी तथा डुबानबाट प्रभावित छन् । पहाडी जिल्लामा पहिरोको त्रास छ । बिहीबारदेखिको अविरल वर्षाका कारण तराई–मधेशका थुप्रै ठाउँ जलमग्न भएका छन् । जिल्लाका सदरमुकामहरु डुबानमा परेका छन् । खेतीपाती डुबानमा परेको छ ।

सुदुरपूर्वी जिल्ला झापादेखि पश्चिम कञ्चनपुरसम्मका जनता बर्सेनि बाढीबाट पीडित हुँदै आएका छन् । पहाडी जिल्लामा पहिरोले सताउने गर्दछ । मनसुन भित्रिए यता, आइतबारसम्म पहिरोले ७३ जनाको ज्यान लिईसकेको छ ।

बाढी तथा डुबानले प्रदेश–२ मा बढी क्षति हुने गरेको छ । प्रदेश–२ को कोशी, कमला, बलान, गागन, रातो, विगही, मरहा, वाग्मती, सिर्सिया, लालबकैया, भेडहा लगायतका नदीले सबभन्दा बढी विनाश गर्दछन् ।

प्रदेश–२ मा पनि सप्तरी, महोत्तरी, रौतहट बर्सेनि सबैभन्दा बढी क्षति हुने जिल्लामा पर्दछन् । प्रदेश–५ को बाँकेको राप्ती नदीबाट नेपालगञ्ज, नैरनापुर, फत्तेपुर, होलिया, बेतहन, गंगापुर लगायतका क्षेत्र प्रभावित हुन्छन् । प्रदेश–१ मा कन्काई, रतुवा, कमल नदी, पालिया, निन्दा, मेची, हरियानलगायत साना ठूला गरी २७ वटा नदीहरुले कन्चनकवल, गौरीगञ्ज, बाह्रदशी, गौरादह, भद्रपुर, शिवसताक्षी, झापा गाउँ, मेची नगरपालिकालगायतका क्षेत्र प्रभावित हुने गरेका छन् ।

यो वर्ष अहिलेसम्म झापामा डेढसय भन्दा बढी घर ढुबानमा परेका छन् भने पाँचसय भन्दा बढी मान्छे विस्थापित भएका छन् । वर्षामा कन्काई नदीले प्रत्येक वर्ष नौ हजारदेखि १० हजार व्यक्तिलाई प्रभावित पार्ने गरेको जिल्ला रेडक्रस शाखाको तथ्यांकमा उल्लेख छ ।

यस्तै मोरङको बक्रहा, नोहन्द्र, सिंघिया, केसलिया खोला, तेली, मावा, सोल्टी खोलालगायत नदीले क्षति गर्ने गरेको छ । बक्रहा नदीले विराटनगर महानगरपालिकाको १५, १६ र १७ नम्बर वडालाई पूर्णरुपले प्रभावित पार्ने गर्दछ । दरैया बस्ती, बखरी, सिम्राही टोल मुसहर बस्ती, दुखीटोल, सुकम्बासी टोल, कानेपोखरी, उर्लाबारी, रतुवामाई नगरपालिका लगायतका क्षेत्रलाई पनि प्रभावित पारेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर