२२ असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुने थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत आँट गर्न सकिरहेका छैनन् ।
प्रचण्ड एकता केन्द्र मसाल देखि दश वर्ष जनयुद्ध लडेको माओवादी समेत बिघटन गर्न सक्ने नेता हुन् । तर, उनी नेकपा फुटाउन आत्तिइरहेका छन् ।
ओली कुनैबेला नेकपा एमाले फुटे फुटोस् भनी बामदेव गौतम समुहलाई पेल्दै भित्तामा पुर्याउन नेता हुन् । एमाले फुट्दा उनले काक्रोको तीतो भाग अलग भएको खुलामञ्चमै बोलेका थिए । यो हदसम्म बोल्ने र जोखिम मोल्ने नेताहरु अहिले दाँत नभएको बाघ जस्तो भएका छन् ।
पार्टी फुटाउन अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले दिदँैन । उक्त ऐनको दफा ३३ को उफदफा ३ मा नयाँ दल गठन गरेर निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दल छुट्टिई अर्काे दल गठन हुन नसक्ने व्यवस्था छ ।
उपदफा ३ मा भनिएको छः ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा २ बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्काे दल गठन हुन सक्नै छैन ।’ अब यो ऐनले नेकपा फुट्न दिदैन । नेकपा दुई वर्ष अघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको थियो ।
राजनीतिक दल फुटाउन केन्द्रीय कार्यसमिति र प्रतिनिधिसभा सदस्य दुवैमा कुल सदस्यको कम्तिमा ४० प्रतिशत संख्या अनिवार्य पुग्नुपर्छ । यो संख्या पुर्याउन ओलीलाई सजिलो छैन ।
अहिलेको सदस्य संख्या हेर्दा प्रचण्ड, माधव, झलनाथ र बामदेव उक्त सिट संख्या पुर्याउन सक्छन् । तर, उनीहरुले पनि पार्टी फुटाउन सक्दैनन् । कारण दल सम्बन्धी ऐन नै हो । पाँच वर्ष नपुगी दल फुटाउन मिल्दै–मिल्दैन ।
अब पार्टी फुटाउन केवल अध्यादेश ल्याउनुपर्छ । प्रधानमन्त्री ओलीले प्रयास गरेमा हद सम्म सम्भव पनि देखिन्छ । अध्यादेशमा पार्टी एक भएको या गठन भएको पाँच वर्षसम्म फुटाउन नमिल्ने बुँदा मात्र नभई प्रतिनिधिसभा र केन्द्रीय कमिटिको पनि प्रतिशत घटाउनुपर्ने हुन्छ ।
यसैले पनि नेकपा फुट्न सजिलो छैन ।