
इलाम । सदरमुकाम इलाम बजार सहित इलामका उत्तरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु अहिले सुनसान छन् । अशोज १८ को वर्षातका कारण ग्रामीण सडकमा भएको क्षतिले यात्रा असहज हुँदा मुख्य सिजनमा पर्यटकीयस्थल सुनसान भएका हुन् ।
नेपाली चियाको इतिहास बोकेको इलाम बजारको चिया बगानमा दैनिक ३ सय बढी पर्यटकले भ्रमण गर्थे । भ्रमण गर्ने आन्तरिक पर्यटक बढी भएपनि बाहिरी जिल्लाका पर्यटकको संख्या अधिक थियो । तर अहिले इलाम बजारमा पर्यटक फाट्टफुट्ट मात्र भेटिन्छन् । विश्व रामसार सुचिमा सुचिकृत सन्दकपुर–१ को माईपोखरी अहिले सुनसान छ । त्रिधार्मीकस्थल माईपोखरीमा धार्मिक आस्था र प्रकृतिमा रमाउने पर्यटक दैनिक सय जना हुन्थे ।
इलाम बजार र माईपोखरी मात्रै हैन उत्तर र पश्चिमी इलामका पर्यटकीय गन्तव्यमा अहिले पर्यटकको चहलपहल छैन । मुख्य सिजन भएपनि अशोज १८ को वर्षातपछि पर्यटन क्षेत्र ठप्प भएको सन्दकपुरका पर्यटन व्यवसायी तिल गुरुङ्गले बताए । इलाम आउने पर्यटहरुमा आन्तरिकसँगै भारतीय पर्यटकहरु बढी हुन्छन् । इलाम बजार हुँदै सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने भारतीय पर्यटकहरुको संख्या बढी हुथ्यो । अशोज १८ को वर्षातपछि मेची राजमार्गको राजदुवाली खण्ड पटक पटक अवरुद्ध हुँदा भारतीय पर्यटकले भ्रमण योजना हटाएका थिए ।
अहिले राजदुवाली खण्ड सुचालु भएपनि पर्यटकहरुको चहलपहल बढ्न सकेको छैन । ग्रामीण क्षेत्रका सडकहरु पूर्णरुपमा क्षति भएकाले पर्यटकीय गतिविधि घटेको केचना कंचनजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुडाथोकीले बताए ।
मेची राजमार्गको सडकका कारण इलाम र देउमाई नगरपालिकासँगै सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रमा यात्रा गर्न चाहाने पर्यटकले आफ्नो होटल बुक नै फिर्ता लिएका थिए । ग्रामीण क्षेत्रका सडक अहिले खुलेपनि अब पर्यटकहरुको आवागमन खासै हुनेछैन । लामो बिदाका सकिएकाले पर्यटन व्यवसायीले चैत्र र बैशाखमा पर्यटक बढ्ने अपेक्षा गरेका छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७