जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो

जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो

९ बैशाख । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दियो । दलकै निर्देशनमा उनले राजीनामा दिएका छन् । ‘पार्टीले सरकारमा जान भनेपछि गएँ’, अहिरले भने, ‘अस्ति पदभार ग्रहण नगर्न भन्यो, अहिले राजीनामा दिन भनेपछि दिएँ ।’
जसपा नेताहरुका अनुसार सरकार गठनका क्रममा मुख्यमन्त्री महराले जसपालाई दुई मन्त्रालय दिने वचन दिएका थिए ।

अहिले एउटामात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष मुसनले जानकारी दिए । ‘मुख्यमन्त्रीजीले बेइमानी गर्नुभयो । त्यसैले मन्त्रीलाई फिर्ता बोलाइएको हो’, उनले भने ।

३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग टुप्लुक्क बहुमत (४४) मत मात्र छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर