५ आश्विन, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ ।
यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । ओली पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको उहाँकै निकटस्थहरुले बताउन थालिसकेका छन् । यसलाई तोड्ने हुनु या होइनन् अबको १० दिनभित्र प्रष्ट हुनेछ ।
ओलीका सामु एमसीसीबाट पछि हट्ने या सत्ता छाड्नुपर्ने वाध्यात्मक परिस्थिति निर्माण गरिदैछ । यसको संकेत उपाध्यक्ष बामदेव गौतमले गरिसक्नुभएको छ । गौतम नेकपाभित्रका सुरथका एक्का जस्तै भईरहनुभएको छ । उहाँको पछिल्लो भनाईले कुनै गम्भीर घटनाको संकेत गरिसकेको छ ।
गौतमकै साथले ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्न सफल हुनुभएको थियो । उहाँकै साथले अप्ठ्यारोमा परेका ओली दुई विवादास्पद विधयेक ल्याउँदा सत्ता टिकाउन सफल हुनुभएको थियो । यसपटक भने साथ नदिने स्पष्ट धारणा आइसकेको छ ।
गौतमले हिजो आफ्नो सचिवालयमार्फत आफ्नो प्रधामन्त्री ओलीसँग विमति रहेकाले सरकारमा नजाने स्पष्ट पारिसक्नुभएको छ । उहाँले पार्टीको औपचारिक निर्णय बमोजिम सरकार चल्नुपर्नेमा जोड दिदै त्यसो नभए कडा निर्णय आउने सम्मको संकेत गर्नुभएको छ । उहाँको आशय एमसीसीबारे नै थियो ।
प्रधानमन्त्री ओली एमसीसी संसदीय दलमार्फत पारित गराउने गरी निर्णय गराउन चाहिरहनुभएको छ । तर, पार्टी निर्णय बमोजिम हुनुपर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको छ । सचिवालय सदस्य रामबहादुर थापा बादल पनि एमसीसीको विपक्षमा छन् । पक्षमा ओलीसहित ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल देखिएका छन् । यसरी सचिवालयमा ६ र ३ को अवस्था बनेको छ ।
भोलि सचिवालय डाकिएको छ । १० असारमा स्थायी समिति बैठक डाकिएको छ । बैठक टार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ओली अनुपस्थित भएपनि गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
दुई तिहाई कोरम पुर्याएर भएपनि एमसीसीबारे निर्णय लिने ओलीइतरको रणनीति छ । त्यस अवस्थामा वार की पार हुनसक्छ । ओलीले एमसीसी संसदबाट पारित गराएर जान खोजे पार्टी निर्णय विपरित हुनसक्ने र संसदमै नेकपाका सांसदहरुको पक्ष विपक्षमा मत पर्न सक्छ ।
ओलीले एमसीसीको बचाऊ हिजो पनि संसदमा गर्नुभयो । उहाँले महाकाली सन्धीको बेलामा पनि विगतमा त्यतिकै उफ्रिएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो । एमसीसी नपढी बोलेको समेत भनेर बचाऊ गर्नुभयो ।
राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो–, “मान्छेहरूले पढे हुन्थ्यो नि ! लहैलहैमा लागेको छ । देशमा विकास हुन लाग्यो भन्ने चिन्ता हो ?’’
यसबाट पनि प्रधानमन्त्रीको आशय प्रष्ट रुपमा बुभ्न सकिन्छ । उहाँ कुनैपनि हालतमा सदनबाट एमसीसी पास गराउने रणनितीमा खुलेरै लाग्नुभएको छ । ‘लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन् ? के पढ्छन् ? कागले कान लग्यो भनेर भन्दा, लाँदा त दुख्छ होला नि !’ उहाँले भन्नुभयो–‘दुख्या छैन भने होइन होला नि भन्ने थाहा पाउनुर्पयो नि पहिला । दुख्या छैन तै पनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नुर्पयो नि, मेरो पनि कान छ कि छैन भनेर ? दुख्यो दुखेर वास्ता नगर्ने, छ कि छैन नछाम्ने लहैलहैमा कुद्ने यो प्रवृत्ति अचम्म लाग्छ ।’
यसरी ओली पछाडि हट्ने सम्भावना कमजोर भइरहेको छ । अब वार की पार एमसीसीबाटै हुने आँकलनका साथ नेकपाभित्रका उहाँको विरोधमा देखिएको समुह रणनीतिका साथ तयार भएको छ ।
प्रचण्ड, खनाल, माधव र गौतम बसेर रणनीति तयार गरिसकेको बुझिएको छ । यसपटक एमसीसीको मामलामा कोही यताउता नहुने समझदारी समेत बनेको उच्च स्रोतले जनाएको छ । विगतमा बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्रले परिस्थिति फरक पर्न गएकाले हिजो उहाँको सचिवालयमार्फत बोल्ने अवस्था बनाइएको थियो । गौतम बोलेपछि अब उहाँ ओलीको पक्षमा छैनन् भन्ने स्पष्ट भएको छ ।
एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी भएको छ । त्यसका लागि पाँचजना सचिवालय सदस्यको भित्री तयारी रहेको बुझिएको छ । बादल सरकारमा रहेकाले यताउता हुनसक्ने सम्भावना छँदैछ । बरु विष्णु पौडेलले गुट परिवर्तन गर्नसक्ने अवस्था बन्न सक्छ । ओली र पोखरेल भने एकै साथ हुनुहुन्छ ।
१५ असारभित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिइसकेको छ । नेकमभित्र यसबारे मतभेद गहिरो छ । यसैलाई अस्त्र बनाएर ओली सरकार ढाल्न खोजेको कतिपयको बुझाई रहेको छ । हुनपनि अहिले यही विषयलाई लिएर ओली सरकारमाथि एकसाथ प्रहार गर्न नेकपाका हेभिवेटहरु लागेका छन् । यसको सामना गर्न भने प्रधानमन्त्री ओलीलाई हम्मे पर्न सक्छ ।