३१ जेष्ठ, झापा । झापा सहित देशका विभिन्न स्थानमा आज पनि सरकार विरुद्ध प्रदर्शन हुँदैछ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले मुलुकका प्रमुख शहरमा प्रदर्शन गर्न लागेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा दश बजेपछि सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्ने तयारी युवाहरुको छ । प्रहरीले भने गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने जनाएको छ ।
आजै सुर्खेत, झापाको दमक, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन हुने बताइएको छ ।
उनिहरुको मागः
नेपालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत्र ११ देखि लकडाउन जारी गर्दै आएको छ । पटक पटक गरी लकडाउनको म्याद थप्दै आए पनि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदम नचालेको, पीसीआर परीक्षणको दायरा बढाउन नसकेको, भ्रष्टाचारलाई सरकारलाई बढावा दिएको भन्दै युवाहरु आन्दोलित भएका हुन् ।
अढाइ महिना लामो लकडाउनका बाबजुद जनताले दैनिक जीवनमा भोग्दै आएको असुविधा तथा कष्ट नसहेका होइनन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सन्दर्भमा १० अर्ब रुपैयाँ खर्च गरेको तथ्य प्रकाशमा आएपछि भने सचेत युवा वर्गले उक्त खर्चको हिसाब माग्न थालेको हो ।
विभिन्न क्वारेन्टाइनमा खान–बस्नको असुविधामात्र होइन, गोठ तथा कटेरोलाई समेत क्वारेन्टाइन बनाएका तस्वीरहरु सामाजिक सञ्जालमा यसबीचमा भाइरल भए । लकडाउनकै बीच आर्थिक दुरावस्था, परिवारप्रतिको दायित्व निर्वाह गर्न नसक्दाको तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएकोजस्ता समाचार पनि प्रकाशित भए । सचेत युवा वर्गले सामाजिक सञ्जालमा १० अर्बको हिसाब सरकारसँग माग्न थालेका मात्र होइन, कोरोना रोकथाम तथा नियन्त्रणका लागि उदासिन देखिएको सरकार भ्रष्टाचार तथा कमिसनका काण्डमा रम्न थालेको भन्दै लगातार खबरदारी गर्दै आएको पाइन्छ ।