३१ जेष्ठ, काठमाण्डौँ । आफ्नै पार्टीकी सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्ने भएको छ ।
नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।
यसबारे छलफल गर्न आज बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिनुभयो । ‘यस(सरिता गिरीको संशोधन प्रस्ताव)बारे संसदीय दलको बैठकमा छलफल हुन्छ । निर्णय नभइ के हुन्छ भन्न सक्ने कुरा भएन,’ प्रमुख सचेतक अरगरियाले भन्नुभयो, तर अझै फिर्ता लिने समय छ । हाउसमै पनि फिर्ता लिन सकिन्छ ।’
यसअघि समाजवादी जनता पार्टीले संशोधन फिर्ता नलिए गिरीलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो ।
यस्तै जसपाका प्रभावशाली नेता महेन्द्रराय यादवले सांसद गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिइसको र फिर्ता नलिए वा पार्टीको कुरा नमाने संसदीयलको कानून अनुसार कारवाही गरिने बताउनुभएको छ ।