३० जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको हो ।
बालकुमारीस्थित पार्टी कार्यलयमा बसेको जपसा पदाधिकारी बैठकले संशोधन सम्बन्धि प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो ।
सोही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित बयान दिँदै आएकी छिन् । उनीमाथि कारवाही गर्न उनकै पार्टीभित्रबाटसमेत आवाज उठेको छ ।
‘हामीले संविधान संशोधनको पक्षमा उभिने र मतदान गर्ने निर्णय गरेका छौँ’ पार्टीका नेता शरतसिंह भण्डारीले भन्नुभयो, ‘हामीले सरिता गिरीलाई पनि स्पष्ट रुपमा संविधान संशोधन माथि दर्ता गराएको संशोधन फिर्ता लिन सुझाव दिएका छौँ ।’
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सहितको पत्र दिइसकेका छन् ।
‘उहाँले बैठकमा संविधान संशोधन प्रस्तुत भएपछि छलफलमा पनि फिर्ता लिन सक्नुहुन्छु, अरगरियाले भन्नुभयो–‘त्यसअघि पार्टीको बैठकमा पनि छलफल हुन्छ ।’