२० जेष्ठ, काठमाण्डौँ । ‘सभामुख महोदय ! मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ । केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ । यो किताबमा मात्र समेटिने हो कि काम पनि गर्ने हो ? २०७७ मा के हुन्छ थाहा छैन, २०७६ कोमा त केही भएको थिएन ।’
प्रदेश सभाको छैठौं अधिवेशनमा कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उद्धेश्य, प्राथमिकता र प्रमुख नीति कार्यान्वयनको आशंका गर्दै सांसद झोवा बिकले सदनमा बोलेको कुरा हो ।
उहाँका कुरामा कुनै कडा शब्द छैनन्, न सरकारको चर्काे आलोचना छ । तर उहाँको यही भाषणको अहिले सामाजिक सञ्जालभरि चर्चा छाएको छ ।
अहिले सबैको मन जित्ने भाषण गर्नुभएकी झोवा मुगुदेखि उखाडबखाडपूर्ण यात्रा गरेर सर्खेत आईपुग्नुभएको हो । सुर्खेत आइपुगेकीमात्र होइनन् टिक्न पनि उहाँलाई कम्ता हम्मेहम्मे परेको होइन । एकचोटि त उहाँलाई यतिसम्म लागेको थियो कि बोल्दै नबोली बस्नुभन्दा बरू सांसदबाट राजीनामा गरिदिन्छु ।
प्रदेश सभा गठन भएछि बसको पहिलो हिउँदे अधिवेशनभर उहाँ सदनमा मौन बस्नुभयो ।
झोवाले राजनीतिमा भोगेको दुःख भनेका ‘भाषण गर्न नसक्नु’ नै हो ।
‘राजनीतिमा मैले दुःख भोगेको भनेकै भाषण गर्न नसक्नु हो, गाउँमा पनि धेरै बोलिनँ,’ उहाँले भन्नुभयो, ‘सांसद भइसकेपछि प्रदेशको पहिलो अधिवेशनभर बोलिनँ, नबोलेपछि पत्रकारले बोल्नै सक्दिनन् भनेर आलोचना गर्न थाले ।’
हिउँदे अधिवेशन सकिएपछि रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन भयो । कर्णाली प्रदेश सरकार घोषणा गरेको उक्त कार्यक्रमको उद्घाटनमा झोवा पनि पुग्नुभयो ।
कार्यक्रम सकेर घर जानुयभो र आफू राजीनामा दिने निर्णयमा पुगेको कुरा गाउँकै एक जना महिला नेतृलाई सुनाउनुभयो ।
झोवाले उहाँलाई आमासमान मान्नुहुन्छ । दुर्गममा बसेर लामो समयसम्म राजनीतिमा सक्रिय भएकी झोवाकी छिमेकी अभिभावकले राजीनामा नदिन सल्लाह दिनुभयो ।
ती महिलाले उहाँलाई ‘पाँच वर्ष तिम्रो स्थायी जागिरजस्तो हो यो । भाषण गरे पनि नगरे पनि तिमी संसदमा बस्नैपर्छ’ भन्दै सुझाउनुभयो ।
छिमेकी अभिभावकको सल्लाह लिइसकेपछि झोवा फेरि सुर्खेत आउनुभयो । लगत्तै दोस्रो अधिवेशन पनि चल्यो ।
‘संसदको दोस्रो अधिवेशनमा म बोलें, पहिलोचोटि बोलेर हो कि राम्रो बोल्न नसके पनि मेरो चर्चा बढ्यो,’ उहाँ भन्नुहुन्छ, ‘पछि म आफैंलाई लाग्यो–यसो गरेपछि हुनेरहेछ भन्ने । आजभोलि त म बोल्न लाज पनि मान्दिनँ, बैठकमा पनि बोल्छु ।’
संसद बैठकमै बोल्न सुरू गरेदेखि नै आफूलाई ‘केही सक्ने रहेछु’ भन्ने लागेको उहाँ बताउँनुहुन्छ ।
आफैले ल्याएको व्यवस्थाले दिलाएको ‘सांसद’ पदः
झोवाको जन्म घर मुगुको मुगुम कार्मारोङ गाउँपालिका–७ हो । यो गाउँपालिका तिब्बतसँग जोडिएको छ । झोवाको बाल्यकाल गोठालो गर्दै बित्यो । बाल्यकालपछिको समय खेतीपातीमा बित्यो। उनले पढ्न पाउनुभएन । उहाँको गाउँमा अहिले पनि गाडी जाँदैन ।
‘पढ्न पाइएन म घरालेको छोरी (घरमै ज्वाइँ राखेर विवाह गरिएको), दाजुभाइ नभएकी एक्ली छोरी भएकाले घरमै ज्वाइँ राखेरे मेरो विवाह गरिएको हो,’ उहाँले भन्नुभयो ‘त्यसबेला हाम्रोतिर पढ्नुपर्छ भन्ने हुँदैनथ्यो, बाहिर पढ्न जान घरकी एक्ली छोरी भएकाले बुवाआमालाई छोड्न सकिएन । त्यहाँ त पढ्ने कुरै भएन ।’
झोवा मुगुबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुन्छ । प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बने पनि झोवाले त्यतिबेला लिन इच्छाएको पद भने होइन ।
प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारी चलिरहेको थियो । झोवालाई समानुपातिक उम्मेदवारको टिकट दिने पार्टीले निर्णय गरेको रहेछ । त्यसबेला उनका बुवाको निधन भएको थियो । बुवाको मृत्युको १० दिनपछि उहाँलाई समानुपातिक उम्मेदवार बनाइएको खबर आयो ।
‘बुवा बितेको १० दिन भएको थियो, समानुपातिकको टिकट लिनुस् भन्ने कुरा आयो, मैले बुवा बित्नुभएको छ गाउँगाउँ गएर भोट माग्न सक्दिनँ भने,’ उहाँले भन्नुभयो, ‘पछि फेरि नेताहरू आउनुभयो, एक त दलित महिला त्यही पनि हरेक कुराबाट पछाडि परेको भनेर मेरो नागरिकताको फोटोकपी र फोटो लिनुभयो, त्यसको पर्सिपल्ट समानुपातिकमा १३ नम्बरमा परेको भन्ने खबर आयो । मलाई सांसद हुन सजिलो भयो ।’
उहाँ संघीयता र लोकतान्त्रिक प्रणालीले आफूलाई संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएको बताउनुुहुन्छ ।
झोवा भन्नुहुन्छ, ‘लोकतान्त्रिक व्यवस्थामा पिछडिएकाहरूलाई समावेश गर्ने क्रममा मेरो नाम पनि समावेश भएको हो ।’
झोवा सांसद हुनुअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुकी सदस्य हुनुहुन्थ्यो । निर्विरोध सदस्य बन्ने उहाँको अपेक्षा थियो तर प्रतिस्पर्धीले नमानेपछि चुनावमा नै लडेर निर्वाचित सदस्य बन्नुभएको थियो ।
सांसद झोवा आफ्नो क्षेत्रका नागरिक शिक्षित होऊन् भन्ने चाहनुहुन्छ । विकट ठाउँमा भएकै कारण शिक्षा, स्वास्थ्यजस्ता कुरामा पहुँच नपुगेकी उहाँ आफ्नो क्षेत्रका अरू नागरिकलाई शिक्षाको पहुँचमा र्पुयाएर आत्मनिर्भरताको बाटोमा र्डोयाउने उनको सपना छ ।
‘मजस्तै अहिले मेरो गाउँका अरू पनि छन्, मैले जुन अवस्था भोगें त्यही अवस्था अहिले पनि मेरो ठाउँमा छ,’ उहाँले भन्नुभयो, ‘यसकारण केही राम्रो योजना लिएर विकास गर्न पाए र मजस्तै महिलाका लागि सहज बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।’