७ जेष्ठ, विराटनगर । प्रदेश–१ बाट आज थप ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुर भुल्केका रहेका छन् ।
आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्वद इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् ।
आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत बस्नेतले बताउनुभयो ।
आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश–१ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् ।
यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ । हालसम्म नेपालमा ४ सय २ जनामा संक्रमण देखिएको छ भने ३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।