३१ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको छ । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उहाँले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको हो ।
पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो । प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल टिव्टरमार्फत निर्वाचन अघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना ।’
पछिल्लो समय सुदूरपश्चिमी भूभागमा चर्चिकएको सीमा विवादसँगै सीमा सुरक्षाको लागि अपुग भएको खण्डमा राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने बारेमा चर्चा चलिरहेको बेलामा श्रेष्ठले आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गर्नुभएको हो ।