२९ वैशाख, काठमाण्डौँ । नेपाल सरकारले लिपुलेकबारे भारतलाई ‘कूटनीतिक नोट’ हस्तान्तरण गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भारतीय राजदूत विनय महोन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ ।
आज परराष्ट्र मन्त्रालयमा भारतीय राजदूत क्वात्रासँग बैठक भएकोसमेत जनाइएको छ ।
यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो । उक्त सडक उद्घाटन भएपछि नेपालमा व्यापक विरोध भएको थियो ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विवादित भनेर भारतले स्वीकार गरेको भूमिमा कुनै पनि गतिविधि सञ्चालन नगर्न भारतलाई आग्रह गरेको थियो । भारतले भने उक्त विज्ञप्तिको जवाफमा उक्त सडक पूर्णरुपमा भारतीय भूमिमा बनाइएको प्रतिक्रिया दिएको थियो ।
नेपालमा भने भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भन्दै व्यापक विरोध भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर सो नोट हस्तान्तरण गरेको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कुटनितिक नोट (डिमार्स) दिएको हो ।
राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा राख्नुभएको थियो ।