२९ वैशाख, काठमाण्डौँ । परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो । कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्काे देशसँग राख्ने औपचारिक धारणारजानकारी बुझिन्छ ।
हिजो नेपालमा विदा परेको र आज भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो ।
राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गर्नुभएको थियो ।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ ।
ओली–मोदी वार्ताको पहल
भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि नेपालले कुटनीतिक पहल अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत आपत्ती जनाएपछि भारतको विदेश मन्त्रालयबाट पनि विज्ञप्तिमार्फत जवाफ आएको छ । तर, कुटनीतिक तहमा औपचारिक वार्ता हुन सकेको छैन ।
लिपुलेकको विषयमा नेपालले भारतसँग कुटनीतिक तहमा कुराकानी अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अनौपचारिक कुराकानी अगाडि बढेको छ । दुवै देशको प्रधानमनन्त्री तहमा टेलिफोन या भिडियो कन्फरेन्समार्फत वार्ता गराउन नेपाली पक्षले पहल थालेको बुझिएको छ । यसअघि नै विदेशसचिव स्तरीय द्धिपक्षीय कुराकानीको पहल भइरहेको छ । कोभिड १९ का कारण तत्काल सम्भव नभएपनि लगत्तै सचिवस्तरीय कुराकानी हुने भएको छ ।
भारतले कोरोना भाइरससँग जुध्नु परेकाले लिपुलेकका विषयमा केही समयपछि कर्मचारी तहमा कुराकानी गर्ने चाहना व्यक्त गरेको विश्वस्त स्रोतले जनाएको छ । यही विषयमा दुवै देशका प्रधानमन्त्रीबीच तत्काल वार्ताको सम्भावना कमै रहेको बुझिएको छ । भविष्यमा हुने द्धिपक्षीय भ्रमण या टेलिफोन वार्तामा भने यो विषयमा कुराकानी हुनसकने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली लिपुलेकका विषयमा अझै मौन छन् । उहाँले यसबारे सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न खोजिरहनुभएको छ । बाहिर बोलेर भन्दा प्रधानमन्त्री तहमा कुरा गरेर या जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारी दिएर लिपुलेकको सवालमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न प्रधानमन्त्री ओली गम्भीर भएको निकट स्रोतले बताएको छ ।