२८ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पतालबाट झापा र भोजपुरका थप दुईजना कोरोना संक्रमित कोरोना मुक्त हुँदै घर फर्किएका छन् ।
प्रदेश–१ को कोरोना उपचार कन्द्रको रुपमा रहेको विराटनगरको कोशी अस्पतालमा उपचाररत झापा दमकका ६३ वर्षीय वृद्ध र भोजपुरका २७ वर्षीय युवक कोरोनालाई जितेर घर फर्किएका हुन् ।
झापा दमकका संक्रमित बृद्धलाई गत वैशाख १२ गत भर्ना गरिएको थियो । त्यस्तै भोजपुरका युवकलाई गत वैशाख १० गते अस्पताल भर्ना भएका थियो ।
उनीहरू दुवैको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गपरिको अस्पतालले जनाएको छ । ‘उहाँहरूको दुवै जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौं,’ कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले भन्नुभयो, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरू केही समय घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’
यससँगै कोशी अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमित व्यक्तिको संख्या १६ पुगेको छ । गत बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।