२८ वैशाख, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले पूर्वशासकहरुले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको टिप्पणी गर्नुभएको छ । संसदीय समितिको आज बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री बादलले यस्तो बताउनुभएको हो ।
‘आज हाम्रो यो पुस्ताले पूर्वशासकहरुले गरेको गल्तिको पीडा भोग्दैछौं । हाम्रा पूर्वशासकहरुले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालका सीमाहरुमा भारतीय सेनालाई, भारतीय सुरक्षा चौकीहरु स्थापित गर्ने अनुमति दिनु नै ठूलो गम्भीर ऐतिहासिक भुल थियो’ उहाँले भन्नुभयो ।
गृहमन्त्री थापाले भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा सडक मात्र नभएर अन्य प्रशासनिक संरचनाहरु पनि बनाएको बताउनुभयो ।
त्यो कुराहरु सरकारको जानकारीमा भएको उल्लेख गदै गृहमन्त्री थापाले कुटनीतिक पहलबाट समस्याको समाधान निकाल्ने तर्फ सरकार लागिपरेको जवाफ दिनुभयो । कुटनीतिक वार्ताबाट त्यसको समाधान नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने विषयमा समेत सोच्न सकिने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बैठकले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण रहेको निश्कर्ष निकालेको छ । बैठकमा समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताउनुभएको छ ।