२४ वैशाख, विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् ।
अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई आज विहान विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।
उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुनः थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताउनुभयो ।
डिस्चार्ज भएका अनुस जैदीले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताए । ‘धर्म प्रचारका लागि हिँडेका हामीहरुमा संक्रमण देखिदा पनि त्रसित भएनौं,’ उनले भने, ‘संक्रमण पुष्टि भएपछि हामीलाई विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याएर राखेको र यहाँ चिकित्कसहरुको अत्यन्तै राम्रो हेरचाहले आत्मबल झन मजबुत भयो ।’
उपचार केन्द्रमा आफूहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै विभिन्न चिकित्सकहरुले पनि नियमित फोन सम्पर्क गरेर हेरचाह गरेको जैदीले सुनाए । आफूहरुलाई आवश्यक भएको हरेक सामग्री पनि स्वास्थ्यकर्मीहरुले उपलब्ध गराइदिएर माया गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे ।
प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा डिस्चार्ज भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको मिश्रले बताउनुभयो । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासीसहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो ।
त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएकोमध्ये ६ जना डिस्चार्ज भएका हुन् । यस्तै, भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकको १÷१ जना गरी अब कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।