२१ वैशाख, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गर्नुहुँदैँ मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । ‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरिएबाट नै प्रेस स्वतन्त्रताप्रति नेपाल कति संवेदनशील छ भन्ने कुरा जगजाहेर हुन्छ” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास पनि प्रकट गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।