१४ वैशाख, सुनसरी । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण त्रसित नहुन आग्रह गर्नुभएको छ । प्रदेश–१ मा कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिए पनि सरकारले राम्रो तयारी गरेको हुनाले नआत्तिन तर सचेत हुन आग्रह गर्नुभएको हो । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि सञ्चालनमा आएको कोरोना अस्पतालको निरीक्षण पछि सञ्चारकर्मी संग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रदेश–१ कोरोना भाइरसको केन्द्रको रुपमा देखापरेको भएपनि प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएकोले विचलित नहुन उहाँले नागरीकहरुलाई अपिल गर्नुभयो । ‘प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएको हुनाले आत्तिनु पर्ने, विचलित हुनुपर्ने अवस्था छैन ।’
मुख्यमन्त्री राईले भन्नुभयोः ‘हामीले एक हप्तामा नै विराटनगरमा कोरोना अस्पताल तयार गर्याैं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँ जहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीब्र बनाएका छाँै, फराकिलो बनाएका छौं ।’
प्रदेश एकमा संक्रमितको संख्या जतिसुकै देखा परेपनि त्यसलाई व्यवस्थापन गर्ने तयारीमा प्रदेश सरकार सक्रिय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोः ‘धरानमा एक हप्तामा १०० बेडेको अस्पताल तयार भएको छ, र थप १०० बेडको तयारी गर्न सकिन्छ । यही ठाउँमा परिस्थिति हेरेर संख्या अझै थप गर्न सक्छौं ।, सबै प्रकारका विकल्प, उपाय र प्रयासहरुको साथमा कोडिभ १९ लाई पराजित गर्न एक ढिक्का भएर जुटेका छौैं । आत्तिनुपर्ने, विचलिन हुनुपर्ने केही पनि छैन ।’
कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी राम्रो संग अपनाउन र सरकारले जारी गरेको लकडाउन पुर्ण रुपमा पालना गर्न उहाँले प्रदेशका नागरीकहरुलाई आव्हान गर्नुभयो ।