१३ वैशाख, विराटनगर । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको हतुवागढीमा कोरोना भाइरसको संक्रमित एक व्यक्ति फेलापरेपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई हेली हेलिकप्टर मार्फत स्वास्थ्य सामाग्री लिएर सो क्षेत्र प्रस्थान गर्नुहुने भएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र चिकित्सकहरुको टोली सो क्षेत्रमा प्रस्थान गर्ने बताईएको छ ।
हतुवागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार वडा नम्बर ६ का संक्रमित युवकलाई भोजपुर जिल्ला अस्पतालको एम्बुलेन्समा राखि आजै बिराटनगरको कोशी अञ्चल अस्पताल पठाइएको छ ।
हिजो शुक्रबार ती युवकको नजिक भएका ७ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको थियो । किटको अभावले १४ जनालाई पिसिआर परिक्षणका लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकृत खतिवडाको भनाई छ ।
मुख्यमन्त्री राई थप स्वास्थ्य सामाग्री र टेष्ट किटका साथ हतुवागढीमा आउनुहुने खतिवडाले जानकारी दिनुभएको छ । टेष्ट किट आएपछि सो वडाका थप व्यक्तिहरुमा टेष्ट गरिने उहाँले जानकारी दिनुभयो ।