११ वैशाख, विराटनगर । प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद्को बैठक आज बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
मन्त्री कार्कीका अनुसार बैठकले सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली २०७६ को मस्यौदालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरि, मुख्यमन्त्री युवा उद्यमशिलता विकास कोष सञ्चालन नियमावली २०७६ को मस्यौदालाई पनि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहले आर्थिक बर्ष २०७७/०७८ का लागि प्रदेश सरकार समक्ष माग गर्ने समपुरक अनुदानको प्रस्ताव पेश गर्ने म्याद संशोधन गर्ने सम्वन्धको प्रस्ताव पनि पारित गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यसका अलावा प्रदेश मन्त्रीपरिषद्को बैठकले विराटनगर स्थित कोशी अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) उपचार केन्द्रका रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने निर्देशिका २०७७ लाई पनि स्वीकृती प्रदान गरेको छ ।
मन्त्री कार्कीका अनुसार आजको बैठकले नेपाल कृषि बजार विकास कार्यक्रम २ को अवधारणा पत्रलाई पनि स्वीकृति प्रदान गरेको छ ।
उहाँका अनुसार स्वीस विकास नियोगको तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रमको दोस्रो चरणको अवधारणाको मस्यौदामा नियोगले नेपाल कृषि बजार विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रस्ताव गरेको हुनाले नियोगको उक्त प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो । यस सम्वन्धी निर्णय नेपाल सरकारसमक्ष पठाउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।