८ वैशाख, जनकपुरधाम । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको छ । भारतबाट एक महिनापछि फर्केका वडा अध्यक्षको आरडीटी विधिबाट परिक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हाे ।
उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाअध्यक्षकै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।